सवारी चालकको सडकमा नै स्वास्थ्य परिक्षण

प्रकाशित मिति: १० माघ २०७५, बिहीबार गलेश्वर न्युज

म्याग्दी, १० माघ ।
म्याग्दीमा चल्ने सवारी साधनका चालकको स्वास्थय जाँच गरिएको छ । उनीहरुको बेनी–जोमसोम सडक खण्ड अन्तरगत बेनी नगरपालिका–६ जलेश्वरमा स्वास्थ्य परिक्षण गरिएको हो ।

उनीहरुको रक्तचाप (प्रेसर) र आँखाको परीक्षण गरिएको स्वास्थ्य परिक्षणमा खटीएका चिकित्सकले जनाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको स्वास्थ्य परिक्षणमा दुर्घटना न्युनीकरणमा सघाउ र्पुयाउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ ।
चालकलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यका साथ स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिए ।

उनका अनुसार बिहिबार भएको स्वास्थ्य परिक्षणमा ७५ जना चालकको स्वास्थ्य परिक्षण गरिएको छ । चालकको आँखा र प्रेसरको परीक्षण संगै उनीहरुलाई आवश्यक सल्लाह सुझाव दिईएको ट्राफिक प्रहरी कार्यालयका बैकुण्ठ पौडेलले जानकारी दिए । उनका अनुसार ७५ जना मध्ये ७ जनामा रक्तचाप र २ जनामा न्यून दृष्टिको समस्या देखीएको छ । उनीहरुलाई औषधि खान र अन्यलाई नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन्।

दैनिक खानपानमा पनि ध्यान दिन चालकलाई स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका थिए । दुर्घटना न्यूनिकरण गर्नका लागी जिल्ला ट्राफिक कार्यालयले पछिल्लो समय चेक जाँचमा निकै कठाई गरेको छ । बिषेश गरेर ग्रामिण भेगमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गर्नुपर्ने देखीएको कार्यालयको भनाई छ ।