उजाड बन्यो रुप्से झरना !

July 25, 2020

पहिला

गलेश्वर न्युज,१० साउन /धुव्रसागर शर्मा । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिएको छ। बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुले अव रुप्सेको पुरानो सौन्दर्यलाई देख्न नपाउने भएका छन्।

बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल ,पुल र स्काभेटर समेत बगाएको छ। झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेशिन ,बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। स्थानीय हस्तबहादुर पुनका अनुसार अब रुप्से झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक पर्नेछ।

पहिरो पछिको रुप्से छहरा

अहिले रुप्से झरना उजाड र कुरुप बनेको उनले बताए। वि।स १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो। अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धवृद्धाहरुले बताएका छन्। ‘रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसहरुको समेत भीड हुने गर्दथ्यो’ दानाका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले भने ‘पुलनजिकै गाडीहरुको भीड हुन्थ्यो, झरनाको दायाँ र वायाँको भागमा मानिसहरु रमाउँदै तस्वीर लिन तछाड मछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो।’

पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको थियो। ती पर्यटक रुप्से झरना देखेर लोभिने गरेका रुप्सेमा रेष्टुरेन्ट संचालन गरेका सुवर्ण केसीले बताए। तर, बाढीले रुप्से झरनाको चीर हरण गरिदिएपछि सवैको सपना भताभुङ्ग भएको छ। स्थानीयले प्राकृतिक विपत्ति मात्रै मानेका छैनन् यति वर्षसम्म केही नभएको रुप्से झरनामा बाढी आएर झरनाको सौन्दर्य नासिनुलाई उनीहरुले दैवी विपत्तिका रुपमा पनि बुझेका छन्। एक स्थानीय भन्छन् ‘यो शुभ संकेत होइन, महाविपत्तिको सूचना पनि हो।’