स्वास्थ्यकर्मीमा धमाधम संक्रमण, जोखिम झनै बढ्यो
काठमाडौं – कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।
नोबल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुईजना चिकित्सकको शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुलुकभरका अस्पतालमा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘फ्रन्ट लाइनमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गराई कामकाजमा लगाउनु पर्छ।’
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुई चिकित्सक र चारजना नर्स संक्रमित छन्। त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स र प्रयोगशालाकर्मीसहित १६ जना संक्रमित छन्। वीर अस्पतालका तीनजना चिकित्सकमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भइसकेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा दिनेश गौतमले लेखेका छन् ।