राष्ट्रकै कुशल अभिभावक:गणेशमान सिंह

September 18, 2020

 

फाँसी दिन लैजानुअघि गंगालालले गणेशमानजीको अगाडि टक्क उभिएर भन्नुभयो– गणेशमान दाइ, डु नट फरगेट माई ब्लड !

नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहजत्तिको संघर्ष, दुःख र कष्ट भोगेको नेता थोरै होलान्। ६ दशक लामो सक्रिय राजनीतिका क्रममा १५ वर्षभन्दा लामो जेल जीवन र त्यत्तिकै समय निर्वासनमा बस्नुभयो। राणा शासनकालदेखि राजा, पञ्चायतकालमा पनि जेल जानुभयो। उहाँको सम्पूर्ण जीवन संघर्षमै बित्यो।

१९९७ सालमा चारजना सहिदलाई राणाशासकले फाँसीको सजाय दिने बेला गणेशमान प्रजापरिषद्मै हुनुहुन्थ्यो। प्रजापरिषद् प्रजातन्त्रका लागि संघर्ष थियो। त्यतिबेला राणाहरूको विरोधमा जाँदा गणेशमानलाई पक्राउ गरियो। उहाँविरुद्ध मुद्दा चलाइयो। सर्वस्वसहित आजीवन काराबासको सजाय दिइयो।

चारजना सहिदलाई मृत्युदण्डको सजाय दिने बेला उहाँ जेलमा हुनुहुन्थ्यो। गंगालाललाई फाँसी दिने दिनमा गणेशमानलगायत एउटै जेलमा हुनुहुन्थ्यो। गंगालालको अनुहार नदेखिने गरी टाउकोमा कालो लुगाले छोपिएको थियो। गंगालालजी सीधै आउनुभयो र गणेशमानजीको अगाडि आएर टक्क उभिनुभयो। ‘गणेशमान दाइ, डु नट फरगेट माई ब्लड’ भनेर भन्नुभयो। त्यो कुराले गणेशमानलाई जीवनभर प्रजातन्त्रका पक्षमा लड्न प्रेरित गर्‍यो। मैले सहिदको सपना पूरा गर्नुपर्छ भन्ने अठोट गरिरहनुभयो। उहाँका कानमा जहिले पनि गंगालालले अन्तिममा भनेको त्यो वाक्य गुन्जिरह्यो। उहाँले धेरैपटक यो कुरा हामीलाई बताउनुहुन्थ्यो। सहिदको सपना बिर्सनुहुन्न। उनीहरूको बलिदानीलाई खेर जान दिनु हुँदैन भनेर उहाँ जीवनभर प्रजातन्त्रका लागि लड्नुभयो।

गणेशमानलाई एउटा अभिभावकका रूपमा र नेताका रूपमा फरकफरक तरिकाले बुझ्ने गरेको छु। नेताका रूपमा प्रजातन्त्रका लागि जीवनभर संघर्ष गरेको, ठूलो दुःख र कष्ट भोगेको नेताका रूपमा तथा नेपालले लौहपुरुष अनि सर्वमान्य नेताका रूपमा सबैले स्वीकार गरेको। त्यागी नेताको पहिचान पनि बनेको छ उहाँको। देशविदेशले सम्मान गरेको छ।

बुबा सन्तानलाई औधि माया गर्ने, व्यावहारिक अभिभावक। ‘छोरा भनेको त १६ वर्षसम्म मात्रै हुन्छ। त्यसपछि त साथीजस्तो हो नि’ उहाँ भन्नुहुन्थ्यो। उहाँ जहिले पनि पढ्न/लेख्न प्रेरित गर्नुहुन्थ्यो। त्यसमा पनि उहाँ विज्ञान पढ्नुपर्छ भन्नुहुन्थ्यो। अरू विषय जीवन भोग्दै जाँदा अनुभवबाट पनि सिकिन्छ भन्ने उहाँको सुझाव र मान्यता हुन्थ्यो। त्यही भएर हामी दुवै दाजुभाइले विज्ञान विषय लिएरै पढ्यौं। मैले एमएस्सी गरें।

२०१७ सालको राजा महेन्द्रबाट कू हुँदा म ६ वर्षको थिएँ। बुबालाई सुन्दरीजल जेलमा राखियो। म भेट्न गएँ। अनि म सानै भए पनि मेरा बुबा ठूलै संघर्षमा लाग्नुभएको हो भन्ने थाहा पाएँ। त्यतिबेला बुबा र आमा दुवै जेलमा।

पूर्वजको संघर्ष र बलिदानलाई सम्मान गर्दै उनीहरूले सिकाएको बाटोमा हामी अगाडि बढ्नुपर्छ। इतिहासलाई सम्मान गर्न सकेनौं भने भावी पुस्ताले पनि सम्मान गर्ने छैन भन्ने हेक्का हामी सबैले राख्नुपर्छ।

हामी सानैदेखि आमाबुबाको राजनीतिक संघर्षसँगै हुर्कियौं। बुबाले जहिले पनि हामीलाई जुन क्षेत्रमा काम गर्ने इच्छा छ, त्यसमा इमानदार र पूर्ण समर्पित भएर लाग्न भन्नुहुन्थ्यो। राजनीतिक र पारिवारिक पृष्ठभूमि भएका कारण हामीले धेरै अवसर पनि गुमाउनुपर्‍यो। म आईएस्सी पढ्दा बुबा निर्वासनमा हुनुहुन्थ्यो। उहाँ त्यतिबेला गोरखपुरमा बस्नुहुन्थ्यो। दाइ र मैले दुवैले अमृत साइन्स कलेज (अस्कल) बाट आईएस्सी गरेका हौं। त्यतिबेला क्यानेडियन सरकारले नेपाल एयरलायन्सलाई ट्वीनअटर जहाज दिएको थियो। त्यसका लागि जनशक्ति आवश्यक पर्ने भएकाले नेपाल एयरलायन्सले कर्मचारी आह्वान गर्‍यो राइजिङ नेपाल र गोरखापत्रमा। योग्यता आईएस्सी पास मागेकाले हामी दुवै दाजुभाइले आवेदन दियौं। ६/७ महिना छनोट प्रक्रियामा लाग्यो। हामी दाजुभाइ दुवैजना खुला प्रतिस्पर्धाबाट छनोट भयौं। त्यसपछि हामी जाने समय भयो।

टिकेटिङदेखि बिदाइ कार्यक्रम गर्‍यो एअरलायन्सले। हामी जानु अघिल्लो दिन दरबारमा कुरा उठेछ कि गणेशमान सिंहको दुवै छोरा कसरी छनोट भए ? त्यो रोक्नू भनेर आदेश आएपछि त्यो ब्याचै रद्द गरियो। पछि क्यानेडियन सरकारले थाहा पाएछ कि खुला प्रतिस्पर्धाबाट छनोट गरिएका व्यक्तिलाई राजनीतिक प्रतिशोधका आधारमा रोकियो। त्यो सिट क्यानेडियन सरकारले ६/७ वर्षपछि मात्रै खोल्यो। त्यसमा पनि मेरो दाइले आवेदन दिनुभयो। उहाँले फेरि नाम निकाल्नुभयो।

सुरुमा एअरलायन्समा खुला प्रतिस्पर्धाबाट नाम निकालेर पनि दरबारको आदेशमा हामीलाई अवसरबाट वञ्चित गराएपछि बुबालाई भेट्न गोरखपुर गएका थियौं। तर बुबाले चिन्ता नगर्न भन्नुभयो। एउटा काम भएन भनेर चिन्ता गर्नुहुन्न। जीवनमा यस्ता घटना भइरहन्छन्। दिक्क नमान भनेर सम्झाउनुभयो। खाली बस्नुभन्दा पढाइलाई निरन्तरता दिन भन्नुभयो। अनि मैले बीएस्सी र एमएस्सी गरें। एमएस्सीमा डिस्टिङ्सन ल्याएँ। कलेज पढाउने काम गरें। म राजनीतिमा पनि सक्रिय भएकाले २०४२ सालको सत्याग्रहमा संलग्न भएँ। त्यतिबेला जेल गएँ। जेलमा रोचक संयोग मैले भोगें। १९९७ सालमा बुबालाई भद्रगोल जेलमा राखिएको थियो। उहाँ २००१ सालमा भद्रगोल जेलबाट हाम फालेर निर्वासनमा जानुभएको थियो। सत्याग्रहमा पक्राउ गरेर मलाई पनि त्यही भद्रगोल जेलमा राखियो।

गणेशमान जुन सिद्धान्त र आस्था बोकेर जीवनभर संघर्षमा होमिनुभयो, त्यसको एउटै कारण हो कि सबै नागरिकले समान अवसर पाऊन्। हरेक नागरिकको जीवन समृद्ध बनोस् भन्ने उहाँको चाहना थियो। २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजाले दरबारमा बोलाएर प्रधानमन्त्रीको पद अफर गर्नुभएकै हो। उहाँले राजालाई धन्यवाद दिनुभयो र भन्नुभयो, ‘मैले यो सबै संघर्ष आफू प्रधानमन्त्री बन्नका लागि होइन।’ उहाँले किसुनीलाई प्रधानमन्त्रीमा सिफारिस गर्नुभयो। त्यो दिन उहाँले एउटा सन्देश दिनुभएको हो। सार्वजनिक रूपमा गणेशमानले प्रधानमन्त्री पद त्याग्नुभयो भनेर चर्चा भयो। त्यसभन्दा पनि ठूलो सन्देश अर्काे थियो। प्रधानमन्त्री पद त्याग्दै गर्दा उहाँले ‘दरबारले छानेको व्यक्ति प्रधानमन्त्री होइन, जनताले छानेको व्यक्ति अब प्रधानमन्त्री बन्छ’ भन्ने सन्देश दिनुभएको हो। त्योभन्दा अघि राजाले जसलाई चाह्यो त्यही व्यक्ति प्रधानमन्त्री बन्ने प्रचलन थियो। त्यसलाई चिर्नका लागि उहाँले जनताले जसलाई चाह्यो त्यो व्यक्ति प्रधानमन्त्री बन्छ भन्ने मान्यता स्थापित गर्नु खोज्नुभएको हो। त्यो प्रजातन्त्रका लागि ठूलो सन्देश हो।

२०४६ सालको आन्दोलन सफल भएपछि उहाँले खुलामञ्चमा भाषण गर्नुभयो, जुन निकै चर्चित थियो। अब प्रजातन्त्र स्थापना भइसकेपछि नागरिकको सामाजिक र आर्थिक जीवनमा सुधार आउनुपर्छ। यो परिवर्तनको अनुभूति हरेक नागरिकले गर्न पाउनुपर्छ भनेर उहाँले जोड दिनुभएको थियो। हुनेखाने र सहरमा बस्नेका लागि मात्रै नभई प्रजातन्त्र दूरदराजमा बस्नेका लागि पनि हो। उनीहरूको जीवनमा परिवर्तन नभएसम्म प्रजातन्त्रको अर्थ हुँदैन भन्ने उहाँको मान्यता थियो।

नीतिनिर्माण तहमा दूरदराजका नागरिक र अल्पसंख्यकका साथै राज्यको मूलधारबाट बाहिर रहेकाहरूलाई पनि सहभागी गराउनुपर्छ भनेर समावेशी राज्यको परिकल्पना उहाँले गर्नुभएको हो। दुर्भाग्य, २०४६ सालपछि पनि मुलुकमा पुरानै अवस्था देखिएपछि उहाँले लोकतन्त्रको रक्षाका लागि देशभर अभियान चलाउनुभयो। कांग्रेसले नै यो मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान्छ र सबै नागरिकको अभिभावक कांग्रेस बन्नुपर्छ भन्ने उहाँको विश्वास थियो तर त्यो बाटोमा कांग्रेस नगएको अनुभूति उहाँले गर्नुभयो।

लोकतन्त्रमा मूल्यमान्यताको राजनीति हुन्छ। प्रतिकूल अवस्थामा पनि गणेशमानलगायत नेताहरूले सिद्धान्त र आदर्शको राजनीति गर्नुभयो। तर हामीले प्रजातन्त्र प्राप्त गरिसकेपछि त्यो बाटो बिर्संदै गयौं कि भन्ने उहाँलाई लाग्यो।

म एमएस्सी पढ्दै गर्दा बीपी र गणेशमान मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो। उहाँहरूलाई महाराजगञ्जमा प्रहरी हिरासतमा राखिएको थियो। म स्वयंसेवी रूपमा काम गर्न जुम्ला जाँदै थिएँ। पञ्चायतकालमा राष्ट्रिय विकास सेवाअन्तर्गत स्नातक अध्ययन गरिसकेपछि दुर्गममा गएर स्वयंसेवीका रूपमा काम गर्नुपर्ने नीति नै थियो। मैले आफैंले जुम्ला रोजेको थिएँ। म जानुअघि बुबालाई भेट्न गएँ। उहाँले भन्नुभयो, ‘तिमी धेरै टाढा दूरदराज जाँदै छौ। यसलाई नेपाल बुझ्ने अवसरमा रूपान्तरण गर।’

२०१७ सालको राजनीतिक कूपछि बुबा र आमा दुवैजना जेलमा। आमा सिकिस्त भइसकेपछि जेलभित्रै मर्ने हो कि भनेर सरकारले छाड्यो। त्यसैले त मलाई पनि आदर्श अनि सिद्धान्तको राजनीतिप्रति प्रतिबद्ध भएर लाग्न अभिप्रेरित गर्छ। प्रजातन्त्रका लागि जति मेरो परिवारले दुःख भोग्यो, त्यत्तिकै पूर्वदेखि पश्चिमसम्मका धेरैका परिवारले भोगेका छन्। ती सबैको परिवारको दुःख, संघर्ष, त्याग अनि बलिदानले आज हामी यो अवस्थामा आइपुगेका हौं। पूर्वजको संघर्ष र बलिदानलाई सम्मान गर्दै उनीहरूले सिकाएको बाटोमा हामी अगाडि बढ्नुपर्छ। इतिहासलाई सम्मान गर्न सकेनौं भने भावी पुस्ताले पनि सम्मान गर्ने छैन भन्ने हेक्का हामी सबैले राख्नुपर्छ। मूल्य मान्यताको राजनीति गर्नुपर्छ भन्ने प्रेरणा मैले बुबाआमाबाट सिकेको हुँ। यसमा सदैव प्रतिबद्ध भएर लागिरहनेछु।लेखक प्रकाशमान सिंह उनका छोरो हुन ।