कोरोनाका कारण तिब्बतमै रोकिए भेडा-च्याङ्ग्रा

October 5, 2020

जोमसोम : दसैं लक्षित तिब्बती भेडा-च्याङ्ग्राको कारोवार प्रभावित भएको छ । बडादसैं सुरु हुन १२ दिन बाँकी रहँदा समेत अझै मुस्ताङ सदरमुकाम जोमसोममा भेडा-च्याङ्ग्रा बथान झरेका छैनन् ।

विगत वर्षमा घटनास्थापना सुरु हुन १५ दिन अगावै भेडा-च्याङ्ग्राको बथानले जोमसोम बजार गुल्जार हुने गथ्र्यो । विगतको त्यो रौनक जोमसोममा अझै देखिएको छैन । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण यस वर्ष उत्तरी छिमेकी देश चीनले नाका सिल गरेपछि मुस्ताङमा तिब्बती भेडा-च्याङ्ग्राको कारोबार ठप्पै भएको हो ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले विगत वर्षमा उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट करिब ५ देखि १० हजारसम्म भेडा-च्याङ्ग्रा भित्रिने गरेकोमा यसवर्ष कोरोना कहरकै कारण भेडा-च्याङ्ग्रा भित्रिने क्रम रोकिएको जानकारी दिए ।

चिनियाँ पक्षले कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा कडाई गरेको छ भने नेपाल पक्षले पनि भरसक तिब्बती भेडा-च्याङ्ग्रा भित्र्याउन रोक लगाएको अध्यक्ष बिष्टले उल्लेख गरे । उत्तरी कोरोलाको लुकीछिपी गर्ने नाकाबाट भेडा-च्याङ्ग्रा भित्रिने संम्भावना छकी छैन भनी सोधिएको प्रश्नमा उनले अहिले त्यो सम्भावना नभएको स्पष्ट पारे ।
विगत वर्षमा तिब्बती भेडा-च्याङ्ग्रा किनमेल गर्न नेपाली व्यापारी र तिब्बती व्यापारीहरुको समन्वयमा तिब्बती व्यापारीले कोरोला नाकासम्म भेडा-च्याङ्ग्रा ल्याइ पुर्‍याउने गथ्र्यो । यस्तै छिमेकी जिल्ला डोल्पा र मुगबाट पनि मुस्ताङमा भेडा/च्याङ्ग्रा भित्रिने गथ्र्यो ।

डोल्पाली स्थानीय व्यापारीले तिब्बतबाट खरिद गरिएका भेडा/च्याङ्ग्रा डोल्पा हुँदै मुस्ताङ आइपुग्थे । तर ,यसवर्ष डोल्पाका स्थानीयले पालन गरेका सीमित लोकल भेडा/च्याङ्ग्रा मात्र भित्रिने आंकलन गरिएको छ ।

लोघेकरका गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले यसवर्ष तिब्बतबाट भेडा-च्याङ्ग्रा नआउने भएपछि उपल्लो मुस्ताङीले पालन गरेका भेडा-च्याङ्ग्राको मुल्य गतवर्षको भन्दा २० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार गतवर्ष जिउँदो रोजा भेडा/च्याङ्ग्राको प्रति गोटा १६ देखि १९ हजारसम्म पर्ने गरेकोमा यसवर्ष पशुपालक किसानको खोरमै २३ हजार देखि २७ हजार ५ सयसम्ममा खरिद बिक्री भईरहेको छ ।अध्यक्ष बिष्टले यसवर्ष उपल्लो मुस्ताङको लोमान्थाङबाट बढीमा ३ हजार र लोघेकर दामोदरकुण्ड गापाबाट बढीमा २ हजार भेडा/च्याङ्ग्रा व्यापारीलाई बिक्री हुँने संम्भावना रहेको जानकारी दिए ।विगत वर्षहरुमा दशै लक्षित भेडा/च्याङ्ग्रा खरिद गर्न म्याग्दी,कास्की,लमजुङ,सिन्धुपाल्चोक,काठमाडौं,चितवन,मुगु,जुम्ला र डोल्पालगायतका भेडा/च्याङ्ग्रा व्यापारी मुस्ताङ आउने गथ्र्यो ।

मुस्ताङ सदरमुकाम जोमसोममा भेडा/च्याङ्ग्रा धनी र व्यापारीको मोलमलाईको रौनक देखिन्थ्यो । दर्जनौ भेडा/च्याङ्ग्रा व्यापारीहरुको समुह/समुहको टोली पशुपालक किसानको गोठ तथा तिब्बती च्याङ्ग्रा खरित्न कोरोलानाकासम्म पुग्थे ।विगतमा जोमसोम बजारमा तिब्बत ,उपल्लो मुस्ताङ ,डोल्पा र मुगुबाट भित्रिएका भेडा/च्याङग्राको बथानले स्थानीयको खोर भरिन्थ्यो ।जोमसोमका चरनक्षेत्र भेडा/च्याङ्ग्राले ढाकिन्थ्यो ।

तर,यसवर्ष कोरोना कहरका कारण नत भेडा/च्याङ्ग्राको रौनक देखिएको नत व्यापारीहरुको चहलपहलनै देखिएको छ। मुस्ताङका भेडा/च्याङ्ग्राका व्यापार गर्दै आईरहेका दिपक पुनले पोखरा/काठमान्डौ केही व्यापारीले यसपटक टेलिफोनकै भरमा सीमिति प्रतिनिधि खटाई भेडा/च्याङ्ग्रा खरिद गर्न थालेको जानकारी दिए ।

यस्तै,पर्वत जलजलाका कृषि सहकारी संस्थाका दुर्गाप्रसाद न्यौपाने पनि यसपटक च्याङ्ग्रा खरित्न मुस्ताङ आएका छन् । उनले वारागुङ मुक्तिक्षेत्र झोङमा १ सय ५० गोटा च्याङ्ग्रा २५ हजार देखि २८ हजारसम्मका दरले खरिद गरेको बताए । ‘यसपटक १ हजार च्याङ्ग्रा खरित्ने योजना थियो, उनले भने, ‘यही च्याङ्ग्रा महङ्गो पर्यो ,योजना अनुसार च्याङ्ग्रा खरित्ने आँट गर्नेै सकिन ।’ उनले खरिद गरेका च्याङ्गा गाउँमा पुर्‍याउने जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड गापाले प्रतिगोटा भेडा/च्याङ्ग्रा बिक्री गरे वापत पशुपालकबाट ५ रुपैया कर उठाएको छ ।यस्तै ,वारागुङ मुक्तिक्षेत्र गापाले यो वर्ष १ लाख ५० हजारमा भेडा च्याङ्ग्राको कर उठाउन टेन्डर गरेको छ । कर उठाउँने जिम्मा पाएका कागबेनी कर्माघ्याचो गुरुङले भेडा-च्याङ्ग्राको कर उठाउन टेन्डर मार्फत जिम्मा पाएको बताए ।प्रति गोटा भेडा/च्याङ्ग्रा रु २० का दरले उठाउने जिम्मा गुरुङले पाएपनि भेडा/च्याङ्ग्रा कम आउने देखिएपछि निराश बनेको बताउँछन् । उनले भने, ‘केही पैसा फाइदा हुन्छकी भनी भेडा/च्याङग्राको शुल्क उठाउने टेन्डर हाले तर अहिलेसम्म च्याङ्ग्रा नझर्दा घाटा लाग्ने डर लागेको छ ।’

कोरोना कहरका कारण जिल्लाको छोसेर ,छोनुप,सुर्खाङ,चराङ,चुमजुङ,मराङघमी,घिलिङ,यारा,घारा ध्ये ,ताङ्ग्या,चैले,छुसाङ,मुक्तिनाथ ,धाकार्जुङ,फल्याक ,तिरी ,ताङ्वे र झोङ लगायतका गाउमा स्थानीय पशुपालकले पालन गरेका भेडा/च्याङ्ग्रा धनीले रामै आम्दानी लिने अवस्था देखिएको हो । उपल्लो मुस्ताङबाट ५ हजार र वारागुङ मुक्तिक्षेत्रबाट २ हजार भेडा/च्याङ्ग्रा र डोल्पाबाट ३ हजार च्याङ्ग्रा झर्न सक्ने जोमसोमका पशुपालक किसान भुपिन शेरचनले आँकलन गरेका छन् । उनले यसवर्ष मुस्ताङबाट १० हजार भन्दा बढी भेडा/च्याङ्ग्रा नझर्ने प्रारम्भिक अनुमान गरेका छन् ।

चिसो मरुभुमीमा हुर्काईएका भेडा/च्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ । हिमाली तथा उच्चपहाडी क्षेत्रमा पालन गरिएका भेडा/च्याङ्ग्राले हिमाली वनस्पती यार्सा ,पाचऔले ,निरमसीलगायतका वनस्पती खाने भएकाले स्वास्थ्यका लागि समेत जीवन उपयोगी हुने भएकाले सहरबजारमा भेडा-च्याङ्ग्राको माग बढी हुने गरेको हो ।

मुस्ताङ कतिपय किसानले तिब्बतबाट स-साना पाठा/पाठी ल्याएर हुर्काएर जोमसोम ल्याइ बिक्री गर्ने गर्छन् । गत वर्ष मुस्ताङबाट २३ हजार भेडा/च्याङ्ग्रा जिल्ला बाहिरिएका थिए । घरपझोङ गाउँपालिकाले मुकाम भित्रिने भेडा /च्याङ्ग्राको पशुपंक्षी भेटनरी परीक्षणको जिम्मा स्याउ जोन कार्यालयका वरिष्ठ पशु चिकित्सकलाई दिएको गाउपालिकाले जनाएको छ ।

पशुपंक्षी जन्य पदार्थको आन्तरिक ओसार/पोसार तथा बिक्री बितरणका लागि भेटनरी प्रमाणपत्र आवश्यक पर्ने घरपझोङको पशु कार्यालयका कर्मचारी आईत थकालीले उल्लेख गरे । सेवाग्राहीको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकाले निकासी तथा पैठारीमा पशु निरोगिताको प्रमाणपत्र सरकारले अनिवार्य गराएको हो । तर ,विगतमा पशु चिकित्सकले पशु चौपायाको स्वास्थ्य परीक्षण नगरी हचुवाको भरमा पशु निरोगिताको प्रमाणपत्र भेडा/च्याङ्ग्रा व्यापारीलाई दिइने गरिएको थियो ।सुन्दर कुमार थकाली अन्नपूर्ण