भागरथी भट्टको बलात्कारपछि हत्या अनुसन्धान पेचिलो बन्दै

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार गलेश्वर न्युज

 

गलेश्वर न्युज, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अनुसन्धान पेचिलो बन्दै गएको छ । अभियुक्तसम्म पुग्ने भरपर्दो सूचना नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो ।

आफन्तले भागरथी मृत फेला परेको १२ दिन बितिसक्दा पनि शव बुझेका छैनन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किएकी थिइनन् । उनी २१ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।

केही दिनअघि प्रहरीले अनुसन्धान सकारात्मक पाटोमा अगाडि बढीरहेको बताएको थियो । पछिल्ला केही दिनयता अनुसन्धानमा केही जटिलता थपिँदै आएको अनुसन्धानमा खटिएका प्रहरीहरुले बताउन थालेका छन् । केही शंकास्पद व्यक्तिहरु प्रहरी घेरामा रहे पनि उपयुक्त प्रमाणको अभावमा उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको प्रहरी अधिकारीहरुको दाबी छ ।

खासगरी अनुसन्धानमा संलग्न अधिकारीहरु निर्मला पन्त प्रकरणबाट तर्सिएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्त २०७५ साउन ११ गते घरभन्दा केही पर रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्यामा संलग्नको समेत अझै पहिचान हुन सकेको छैन । प्रहरीले निर्मला हत्यामा संलग्न रहेको भन्दै ३९ वर्षीय दिलीपसिंह विष्टलाई २०७५ भदौ ४ मा सार्वजनिक गरेको थियो । तर, निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग दिलीपको डीएनए नमिलेपछि उनी छुटेका थिए । नक्कली अभियुक्तलाई फसाउन खोजीएको भन्दै तत्कालीन उच्च प्रहरी अधिकारीहरु कारबाहीमा समेत परे । अहिले भने ती प्रहरी अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् ।

प्रमाणको अभावमा कसैलाई पक्राउ र म्याद थप गर्दा कारबाहीमा परिने डरले अनुसन्धानमा संलग्न अधिकारीहरु निर्मला प्रकरणजस्तै बन्न सक्ने भन्दै तर्सिएका हुन् । अनुसन्धानमा संलग्नहरु भन्छन्, “निर्मला प्रकरणजस्तो भागरथी प्रकरण नबनोस् भन्नेमा हामी सचेत छौँ । तर, अनुसन्धान जटिल बन्दै गएको छ । कतिपय अवस्थामा स्थानीयले पनि असहयोग गरेको पाएका छौँ ।”

न्यिदब िदबलपब्नबलष् न्चयगउ
भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । अनुसन्धान टोलीको नेतृत्व गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडीमा छन् । अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ । प्रहरीले सम्भावित संदिग्ध व्यक्तिहरुको सूची तयार गरेको छ । प्रहरीले संदिग्धको सूचीमा सरकारी कर्मचारी, शिक्षक, चिनजानका अन्य व्यक्तिलाई राखेको छ ।

प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले योबीचमा दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार भागरथी प्रकरणको अनुसन्धानका लागि उनको शरीरबाट भेजिनल स्वाब लिइएको छ । जसलाई विकास गर्नका लागि काठमाडौंस्थित विधिविज्ञान प्रयोगशाला पठाइएको छ । स्वाब विकसित गर्न सकिए शंकास्पदहरुको डीएनए परीक्षणसमेत गर्ने तयारी छ । यद्यपि, अन्य प्रमाणले अपराधीको पहिचान हुन सके डीएनए परीक्षण गर्नुनपर्ने अवस्था आउनसक्ने प्रहरी अधिकारी बताउँछन् ।

भागरथीको मोबाइल घटनास्थलमा भेटिएको थियो । प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको छ ।