मुख्यमन्त्री कप महिलातर्फ विजयी म्याग्दीका खेलाडीहरूलाई बेनीमा भव्य सम्मान

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार गलेश्वर न्युज

 

  गलेश्वर न्युज, प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप भलिबलमा प्रतियोगिताको महिलातर्फ विजयी म्याग्दीका खेलाडीहरूलाई बेनीमा भव्य सम्मान गरोएको छ।

भलिबल संघ र जिल्ला स्थित सुरक्षा निकायले छुटाछुटै कार्यक्रम आयोजना गरेर खेलाडीहरूलाई सम्मान गरेका हुन । जिल्ला भलिबल संघ कास्कीको आयोजनामा पोखरामा भएको फागुन ४ देखि ८ गतेसम्म सञ्चालन प्रतियोगितामा पर्वतलाई सोझो सेटमा पछि पार्दै म्याग्दीले उपाधि जित्न सफल भएको थियो ।

जिल्ला भलिबल संघले खेलाडीहरूलाई माला लगाएर बाजा सहित बेनीबजार परिक्रमा गरेर जिल्ला समन्वय समिति हलमा औपचारिक कार्यक्रम गरेर सम्मान गरेको थियो । यसैगरी जिल्ला प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले खेलाडीहरूलाई खादा, माला लगाई सम्मान गर्नुका साथै एक थान नेट र बल प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय अनुसन्धान विभागका अधिकृत महेश गुरुङले तीन हजार र शसस्त्र प्रहरी बलको गलेश्वर स्थित आश्रित गुल्म प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । महिला टिमको हौसला र प्रोत्साहन का लागि व्यक्तिगत रूपमा सहयोग गरेको बताए ।