म्याग्दीमा एक वर्षको अवधिमै ४८ क्षयरोगका बिरामी फेला

प्रकाशित मिति: ११ चैत्र २०७८, शुक्रबार गलेश्वर न्युज

 

म्याग्दीमा एक वर्षको अवधिमै ४८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षण तथा चेकजाँच गर्न स्वास्थ्य संस्थामा आएका एक बालकसहित ४८ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गत र चालु आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा क्षयरोगका बिरामी रहेका छन्। बेनी नगरमा गत आवमा २६ जना, चालु आवमा १७ जनाामा क्षयरोगदेखिएको छ। त्यस्तै मंगलामा ९ जना, मालिका ९ जना, धवलागिरी ५ जना र रघुगंगा गाउँपालिकामा ३ जनामा क्षयरोग देखिएका छन्।

स्वास्थ्य कार्यालयका क्षयारोग फोकलपर्सन गणेश सुबेदीले हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्ने बताए। परीक्षण गर्दा क्षयरोगदेखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उनको भनाइ छ। उनले ग्रामिण क्षेत्रमा एक क्षयरोगीबाट करिब १५ जना र सहरी क्षेत्रमा २० जनासम्म जोखिममा पर्ने बताए। ‘अधिकांसमा फोक्सो र घाँटीका रोगी भेटिएको छ, नयाँ क्षयरोगी थपिने सम्भावना अधिक छ,’ सुबेदीले भने।

गएको साउनदेखि फागुन महिनासम्म भेटिएका नयाँ ३० रोगीमा पुरुष र महिला बराबर रहेकोमा २४ बिरामीको फोक्सोमा समस्या रहेको बताए। आर्थिक वर्ष २०७५र७६ मा गरिएको प्रिभ्यालेन्स सर्वेमा म्याग्दी जिल्लाभित्र क्षयरोगीको संख्या २ सय ७२ हुनुपर्ने अनुमान गरिएको छ।सर्वेमा जनचेतनाको अभाव र समाजमा रोगको पहिचानपछि हुने सम्भावित जोखिमको त्रासका कारण बिरामीले समयमै उपचार नगरेकाले ग्रामिण क्षेत्रमा रोग लुकाएर बसेको बताइएको छ। म्याग्दीमा बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, ताकम, भुरुङ तातोपानी, शिख स्वास्थ्य चौकीमा खकार जाँचका लागि ल्याव रहेको छ।

रोगको पहिचानपछि नियमित औषधि सेवन गरेमा ९० प्रतिशतको उपचार सम्भव रहेको बताए। नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रुक्मिनी अधिकारीले बताईन्। ‘अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ,लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनुपर्छ,’ डा। अधिकारीले भनिन्। उनले क्षयरोग जनस्वास्थ्यको दृष्टिकोणले जोखिम मानिएको बताईन्। उनले क्षयरोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन। यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर पर्ने डा। अधिकारीको भनाई छ।

बिरामीको स्वास्थ्य अवस्था खराब हुन नदिन, अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने भएकाले रोगीले उपचार र नियमित स्वास्थ्यकर्मीको निगरानीमा बसेर औषधि सेवन गर्नुपर्नेमा जोड दिईन्।कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलकसहित विभिन्न माध्यमबाट बिरामीको पहिचानमा जोड दिए। यस वर्ष विश्वभर ुक्षयरोगको अन्त्यका लागि लगानी बढाऔँ स् जीवन बचाऔँु भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ।

प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोगका संक्रमित रहेको पाइएको छ। प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोग संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोग संक्रमित रहेको बताए। उनका अनुसार प्रत्येक वर्ष प्रदेशमा १२ हजार नयाँ क्षयरोगको विरामी थपिने गरेको राष्ट्रिय क्षयरोगको सर्वेक्षणबाट देखिएको छ। ‘७० प्रतिशत क्षयरोगको विरामी प्रदेशमा पत्ता लगाउन नसकिएको उनले बताए। प्रदेश १ मा कुल संक्रमित मध्ये ७० प्रतिशत संक्रमित पत्ता नै लगाउन नसकिएको अनुमान छ,’ उनले भने।

बस्नेतका अनुसार प्रदेश १ मा सबैभन्दा बढी झापामा क्षयरोग संक्रमित भेटिएको बस्नेतले जानकारी दिए। झापामा ९ सय ९२, मोरङमा ९ सय ६८ र सुनसरीमा ८ सय ८९ जना क्षयरोगका संक्रमित छन्। तेह्रथुम जिल्लामा सबैभन्दा कम क्षयरोगको विरामी भेटिएको छ। तेह्रथुममा २१ जनामात्रै विरामी भेटिएको छ। प्रदेश १ मा ९ सय २५ वटा प्यारोग उपचार केन्द्र ३ वटा डिआर उपचार केन्द्र, १ वटा डिआर होस्टेल १३ वटा जिन एक्स्पर्ट साइट रहेको छ। ८३ वटा माइक्रोस्पकोपिक सेन्टहरु रहेका छन्।

 

देशभरीमा २८ हजार ६ सय ७७ क्षयरोगका विरामीहरू रहेका छन्। क्षयरोगका विरामी वृद्धि भइरदा पनि सामुदायमा अझै पनि सचेतनाको कमी रहेको निर्देशक बस्नेतले बताए। १४ जिल्ला रहेको प्रदेश १ का सबै जिल्लामा जिन एक्स्पर्ट मेशिन नहुनु मुख्य चुनौतीको विषय भएको उनले बताए। भएका मेसिनहरू पनि पूर्ण क्षमतामा संचालनमा नआएको बस्नेतको भनाई छ। क्षयरोगका संक्रमितहरूलाई परीक्षणको दायरामा ल्याउन चुनौतीपूर्ण रहेको उनले बताए।

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले समुदाय नागकिर समाज, सार्वजनिक तथा निजी सेवा प्रदायहरुको ऐक्यवद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गरिनुपर्ने बताए। सन २०५० सम्ममा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि आर्थिक वर्षमा संघिय सरकार बाट प्रदेश १ का ४ वटा पालिकाहरुमा बजेट तथा कार्यक्रम प्राप्त भएर कामहरू पनि सुरु भएको उनले बताए। क्षयरोगका विरामीहरुको स्यहार तथा रोकथामका लागि उपयुक्त श्रोत साधन सहितको राजनैतिक प्रतिवद्धा पनि आवश्यक रहेको उनको भनाई छ। ‘समयमै औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि हेलचक्राई गर्ने र परीक्षण नै नगर्ने प्रबृत्तीले समस्या निम्त्याइरहेको छ,’ यादवले भने।

 

यसैवीच विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा र्‍याली पनि निकालिएको छ। ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔंः जीवन बचाऔं’ भन्ने मुल नाराको साथ विराटनगरमा बिहीबार र्‍याली निकालिएको हो। प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा भेला भएर विभिन्न ६ वटा संघसंस्थाले संयुक्त रुपमा र्‍याली निकालेका थिए। र्‍यालीले विराटनगर महानगरपालिका परिक्रमा गरि गुद्री स्थित बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवको पनि सहभागिता रहेको थियो। र्‍यालीमा स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पसले ब्यानर लिएर र्‍यालीमा सहभागी जनाएका थिए।