बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि
गलेश्वर न्युज, बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको जनाएको छ ।
नगर प्रमुख सुरत केसीले जनप्रनिधिहरुको संयोजकत्वमा कर्मचारी र सम्बन्धित खेलकुद संघका पदाधीकारीको सहभागितामा छुट्टा छुट्टै समिति बनाएर प्रतियोगिताको तयारी गरिएको जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने र एक वटा खेल सञ्चालनका लागि कम्तिमा पाँच वटा विद्यालय सहभागि हुनुपर्ने नियम बनाइएको नगर प्रमुख केसीले बताउनुभयो ।
वाइटखेलकुदलाई शिक्षासँग जोडेर पढाई र परिक्षा प्रभावित नहुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, रमेशकुमार श्रेष्ठ, उत्तम कर्माचार्य र चक्र केसीको संयोजकत्वमा खेल सञ्चालन उपसमिति बनाइएको छ । खुल्ला मञ्चमा एथलेटिक्स, न्यु वेष्ट पोइन्ट आवासीय माविको खेलमैदानमा भलिबल, कवर्डहलमा मार्सल आट्स खेलाउने तय भएको छ । कवड्डी कवर्डहल अथवा बेनी सामुदायिक मध्य एक ठाउँमा खेलाइने भएको छ ।
नगरपालिकामा रहेका १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय सहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा रु। १२ लाख बजेट बिनियोजन गरेको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।
यसअघिको प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई रु। पचास हजार, पैतिस हजार र २५ हजार पुरस्कार उपलब्ध गराएको नगरपालिकाले बुधबारको कार्यपालिका बैठकबाट अघिल्लो प्रतियोगिताको भन्दा बढी हुने गरि पुरस्कार रकम तोक्ने जनाएको छ । पदक जित्ने विद्यालयलाई शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई पनि आर्थिक सहयोग गरिने नगरपालिकाले जनाएको छ । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।